दाङमा “ब्रह्माकुमारीज राष्ट्रिय दिव्य सम्मेलन–२०८३” आयोजना हुने

दाङ, जेठ ९ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रले दाङमा “ब्रह्माकुमारीज राष्ट्रिय दिव्य सम्मेलन–२०८३” आयोजना गर्ने भएको छ। सम्मेलन जेठ १५ देखि २० गतेसम्म दाङको घोराहीमा सञ्चालन हुने आयोजकले जनाएको छ।

आध्यात्मिक जागरण, नैतिक पुनर्जागरण तथा विश्वशान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिने सम्मेलनमा देशका विभिन्न भागबाट राजयोग साधक, सेवा केन्द्र प्रतिनिधि, प्रशिक्षक तथा आध्यात्मिक अभियन्ताको सहभागिता रहने बताइएको छ। सम्मेलनमा राजयोग साधना, आध्यात्मिक चिन्तन, अनुभव आदान–प्रदान, संस्थागत समन्वय, वार्षिक समीक्षा तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

यसै अवसरमा “विश्व नव निर्माणका लागि आध्यात्मिक जागरण” भन्ने अन्तर्राष्ट्रिय नाराको राष्ट्रिय शुभारम्भसमेत गरिने आयोजकले जनाएको छ। सम्मेलनमार्फत सकारात्मक सोच, नैतिकता, सहअस्तित्व र शान्तिमय संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमकै प्रमुख आकर्षणका रूपमा “शिवशक्ति भवन” को उद्घाटनसमेत गरिने भएको छ। आध्यात्मिक साधना, मूल्यनिष्ठ शिक्षा तथा मानव सेवाका विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको भवनलाई आध्यात्मिक चेतना विस्तारको केन्द्रका रूपमा विकास गरिने जनाइएको छ।

आयोजकका अनुसार सम्मेलनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४२ जिल्लाका प्रतिनिधिका साथै भारतको बनारस क्षेत्रबाट समेत सहभागिता रहनेछ। कार्यक्रमले सामाजिक, सांस्कृतिक, आध्यात्मिक तथा आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्मेलन अवधिमा नगर सरसफाइ अभियान, शान्ति पदयात्रा, २५० कन्या कुमारी सम्मान कार्यक्रम तथा दाङका धार्मिक एवं पर्यटकीय स्थलहरूको अवलोकन कार्यक्रमसमेत समावेश गरिएको छ। आयोजकले कार्यक्रममार्फत “स्व–परिवर्तनबाट विश्व परिवर्तन” को सन्देश प्रवाह गरिने जनाएको छ। राप्तीक्षेत्र क्षेत्रीय प्रमुख राजयोगनी ब्रह्मकुमारी. गीता न्यौपानेको अध्यक्षता एवं नेपाल पत्रकार महसंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख अथित्यतामा सञ्चालन भएको कार्यक्रमको बारेमा ब्रह्मकुमार शिव महतरा ले गराउनु भएको थियो भने सहजीकण ब्रह्माकुमार माधव कुमार तिमिल्सिना ले गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *