नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताउनुभएको छ ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पार्टीको भातृ संस्था नेपाल थारु सङ्घको प्रथम महाधिवेशनमा उहाँले राष्ट्रको एकीकरण र राष्ट्रिय एकता कायम गर्ने सन्दर्भमा थारु समुदायको ठूलो योगदान महत्त्वपूर्ण भएको बताउनुभयो । थारु समुदायका नागरिकका लागि राज्यका निकायमा सहज पहुँच पुर्‍याउन आफू लागिपर्ने उहाँको भनाइ छ । काँग्रेसले नेपालको अर्थतन्त्रमा सुधार गर्नुपर्छ भनेर वकालत गरेको उल्लेख गर्दै उहाँले बजेटमा धेरै सुधारका कुराहरू समेटिएको भए पनि न्यून आय भएको समाजका वर्गप्रति बजेट मौन रहेको धारणा राख्नुभयो । पार्टीका महामन्त्री प्रदीप पौडेलले थारु समुदायले नेपालको सीमा रक्षा र आर्थिक विकासमा ठूलो योगदान गरेको स्मरण गर्दै संविधानमा प्राप्त भएको अधिकारलाई रक्षा गर्दै थारु समुदायलाई मूलधारमा स्थापित गर्न मिलेर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अर्का महामन्त्री गुरुराज घिमिरेले थारु जाति नेपालको मूलवासी भएको भन्दै थारु जातिको उत्थान राजनीतिक अधिकार स्थापित गराउनका लागि सबै एकताबद्ध लाग्नुपर्नेमा जोड दिँदै सबै पार्टी र जातजातिलाई एकताको सुत्रमा बाँध्ने भनेको कांग्रेस भएको दाबी गर्नुभयो ।कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिवादी चिन्तनबाट अगाडि बढेर नेपालमा रहेका सम्भावनालाई पहिचान गर्दै समृद्धि, समुन्नति र राजनीतिक उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । 

सहमहामन्त्री योगेन्द्र चौधरीले नेपाल विविधता बोकेका नागरिकको देश भएको धारणा बताउँदै थारु समुदायको हकहितका साथै हरेक नेपालीलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारमा स्थापित गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले हिमाल, पहाड र तराईका हरेक मानिसहरूको अपेक्षा र चासोलाई सम्बोधन गर्दै पहिचानको मुद्दा राज्यको हरेक तहमा स्थापित गर्न काँग्रेसले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य गोपाल दहिदले राष्ट्रिय जनसङ्ख्याअनुसार देशभर ७ प्रतिशत जनसङ्ख्या रहे पनि काँग्रेसभित्र तीन प्रतिशत मात्रै क्रियाशील सदस्य रहेको जानकारी गराउँदै थारु सङ्घले थारुहरूमाथिको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक विभेद विरुद्ध आवाज उठाउँदै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *